आर्थिक

सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

By खबरहब

March 08, 2024

काठमाडौं– सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड हुँदैछ । सर्वोत्तमको आईपीओ हात पार्न भाग्यकै भर गर्नुपर्छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान १० बजे नक्साल, काठमाडौंमा आईपीओ बाँडफाँड तयारी गरिएको हो ।

यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदनले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुनेछ । यसमा आवेदकले १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् भने आवेदन दिएका बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाडँफाँड गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।