मनोरञ्जन

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

By खबरहब

March 08, 2024

काठमाडौं– राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित कथामा बनेको फिल्म ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले पोस्टर सार्वजनिक गर्दै छिट्टै प्रदर्शन मिति घोषणा गर्ने बताए ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनदेखि खेल मैदानसम्मको यात्रा चलचित्रमा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारसहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । यो चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको पनि अभिनय रहनेछ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

अञ्जिला संघर्षमा आधारित कथा भए पनि उनको बायोपिक नभएको चलचित्र निर्देशक चाम्सले स्पष्ट पारेका छन् । उनले भने,  ‘७५ प्रतिशत अञ्जिलाकै जीवनी हुने तर बायोपिक भने होइन ।’

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रका सह-निर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन् । चलचित्रका सम्पादकको जिम्मेवारीमा मिलन श्रेष्ठ छन् ।