खेलकुद

लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

By खबरहब

April 08, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिभरपुलले आफ्नो अग्रता जोगाउन नसक्दा शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

लिभरपुलका लुइस डियाज र मोहम्मद शालाह तथा म्यानचेस्ट युनाइटेडका ब्रुनो फर्नान्डेज र कोबी माइनाले एक–एक गोल गरेका थिए ।

खेलको २३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ५०औँ मिनेटमा ब्रुनो र ६७औँ मिनेटमा कोबीले गोल गर्दै म्यानचेस्टरलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि खेल सकिन ६ मिनेट बाँकी छँदा लिभरपुलका शालाहले टोलीलाई हारबाट जोगाउँदै २–२ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै ३१ खेलबाट ७१ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । सामान अङ्क रहेको आर्सनल गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । म्यानचेस्टर युनाइटेड ४९ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।