राजनीति

सहकारी प्रकरणमा समिति गठनको अडानबाट कांग्रेस पछि नहट्ने

By खबरहब

April 08, 2024

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानबाट पछि नहट्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए ।

कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । संसदको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसैबीच कांग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शीर्ष चार दलका नेताहरूसँग छलफल गर्दै छन् ।