समाचार

पनौती-खोपासी सडक कालोपत्र गर्न माग

By खबरहब

April 08, 2024

धुलिखेल– पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको चार किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको भन्दै स्थानीयले कालोपत्र गर्न स्थानीयले माग गरेका हुन् ।

पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले वर्षौँ बितिसक्दा पनि कच्ची सडकमा कालोपत्र नहुँदा यात्राका क्रममा धुलो र खाल्डाखुल्टीका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै छिट्टै कालोपत्र गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए । जिल्लाको पनौतीपछिको मुख्य बजारको रुपमा रहेको खोपासी बजारसम्म व्यवस्थित सडक नबन्नु विडम्बनाको विषय भएको उनको भनाइ छ ।

एकातिर सो बजार भएर जाने छिमेकी पालिका बेथानचोक, पनौती बजार, नजिकैको वडालगायत सबै ठाउँमा पक्की सडक निर्माण भइसकेको भन्दै वडा नं १० अझैपनि पिछडिएर बस्नु परेको वडाध्यक्ष भण्डारीको भनाइ छ । स्थानीयको समस्या तत्काल समाधान गर्नका लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई ध्यानाकर्षण गर्दै कालोपत्र गर्न गर्न आग्रह गरिएको उनले बताए।

सडक कालोपत्र गराउनको लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग छलफल गरिसकेको बताउँदै वडाध्यक्ष भण्डारीले प्राप्त आश्वासनलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवालालेसमेत संयुक्त दबाब दिन आवश्यक रहेकामा जोड दिए ।

 सो सडक कालोपत्र गर्नका लागि पूर्वाधार विकास कार्यालयले विस्तृत गुरुयोजनासमेत तयार गरिसकेको छ भने यसअघि रकमसमेत विनियोजन भए पनि कार्यान्वयन नगर्दा थप समस्या भइरहेको उनको भनाइ छ ।

पटक–पटक यो विषय उठान गरी आवश्यकताको बोध गराउँदा पनि त्यसको कार्यान्वयन नहुने अवस्था भएमा विसं २०८१ वैशाख १६ गतेदेखि दबाबमूलक कार्यक्रम गर्ने वडाध्यक्ष भण्डारीले बताए । सडक कालोपत्र गराउने विषयमा सबैको सहयोगको अपेक्षा गरिएको उनले बताए ।