समाचार

मैवाखोलामा कक्षा आठ बाट पाँच जना मात्र उत्तीर्ण

By खबरहब

April 08, 2024

फुङ्लिङ– ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । 

गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । 

शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्यांकन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । 

यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ ।