राजनीति

कोशीमा वैकल्पिक सरकार गठनको दावी पेश

By खबरहब

April 08, 2024

विराटनगर– कोशी प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्  ।

एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् । 

एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षरसहित गठबन्धनले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनको संभावना रहेकोले त्यो प्रक्रिया अगाडि बढाउन पनि प्रदेश प्रमुख खापुङलाई निवेदन दिएको हो ।

निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ । गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा काँग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई कात्तिक १ मा राप्रपाबाहेक सबै दलले विश्वसको मत दिएका थिए ।

उक्त निवेदनमा कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेको दाबी गरिएको छ ।