फाइल तस्बिर

क्रिकेट

विश्वकपअघि नेपालले वेस्टइन्डिज ‘ए’ सँग खेल्ने

By खबरहब

April 08, 2024

काठमाडौं – आइसीसी टि–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले वेस्टइन्डिज ‘ए’ सँग पाँच टि–२० खेल खेल्ने तालिका रहेको छ । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ ।

वेस्ट इन्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ ।

यसअघि नेपाल र वेस्ट इन्डिजबीच एकपटक मात्र अन्तर्राष्ट्रिय खेल भएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबीच खेल भएको थियो । सो खेलमा वेस्ट इन्डिज एक सय एक रनले विजयी भएको थियो ।

आईसीसी टी२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

वेस्ट इन्डिज भने समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।