समाचार

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक र मर्यादाविपरीत : उपेन्द्र यादव

By खबरहब

June 08, 2024

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले देशको अन्तर्राष्ट्रिय स्तरमा छवि बिगारेको टिप्पणी गरेका छन् ।

जसपाको पार्टी महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा प्रेसमंच नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको आपत्तिजनक रहेको भन्दै विरोध गरे ।

‘कतिपय मुलुकमा हाम्रो देशको लागि लाजमर्दो अवस्था छ ।  भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो । देशलाइ नै बेइज्जत गराउने काम सरकारले गरेको छ । ’अध्यक्ष यादवले भने, ‘राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको छ । देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने कामभएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’

यस्तै अर्को प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सरकारले ल्याएको बजेट आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन । 

उनले सरकारको यो बजेट मधेसप्रति पूर्वाग्रही रहेको बताए । सरकारको यो बजेटले सरकार मधेस र मधेसीको विकासलाई आफ्नो विकास नमान्ने गरेको आरोप लगाए ।