अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको उत्खनन् कम्पनीका डाटा लिक

By खबरहब

June 08, 2024

काठमाडौँ– अज्ञात ह्याकरहरुले अस्ट्रेलियाको एउटा ‘रेयर अर्थ मटेरियल’ उत्खनन् गर्ने कम्पनीको डाटा लिक गरिदिएका छन् ।

नर्दन मिनेरल्स कम्पनीमा चिनियाँ शेयरधनीहरुलाई आफ्नो स्वामित्व बेच्न निर्देशन दिइएपछि ह्याकरहरूले डेटा लिक गरिदिएका हुन् । 

उक्त कम्पनीले डिस्प्रोसियम नामक दुर्लभ पदार्थको उत्पादन गर्दै आएको थियो । यो पदार्थ विद्युतीय गाडीहरूमा चुम्बक बनाउन प्रयोग हुँदै आएको समाचार संस्था एएफपीले जनाएको छ ।

कम्पनीले अज्ञात ह्याकरहरूले साइबर सुरक्षा संयन्त्रभित्र प्रवेश गरी डार्क वेबमा कम्पनीका डेटा चुहाएको जनाएको छ । ह्याकरहरूले गत मार्चमा ह्याक गरेको भएपनि डाटा भने हालै मात्र डार्क वेबमा लिक गरेको कम्पनीले जनाएको छ ।

यसअघि अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले कम्पनीका ५ चिनियाँ शेयरधनीहरुलाई १० प्रतिशत स्वामित्व बेच्न निर्देशन दिएका थिए । अर्थमन्त्रीले निर्देशन दिएको २४ घण्टालगत्तै ह्याकरहरुले कम्पनीको डेटा डार्क वेबमा सार्वजनिक गरिदिएको जनाइएको छ ।

यद्यपि उक्त ह्याक र चिनियाँ शेयरधनीहरुलाई स्वामित्व बेच्न दिइएको निर्देशनबीच कुनै सम्बन्ध रहे नरहेकोबारे केही स्पष्ट भएको छैन ।

त्यसअघि चिनियाँ लगानीकर्ता समूह युसियाओ समूहले कम्पनीमा आफ्नो स्वामित्व वृद्धि गर्ने योजना अघि सारेको थियो । यद्यपि अस्ट्रेलियाले युसियाओ र अन्य चार शेयरधनीलाई आफ्नो स्वामित्व बेच्न ६० दिनको समय दिएको थियो ।