अन्तर्राष्ट्रिय

इजरायलद्वारा मध्य गाजामा आक्रमण, ५५ जना प्यालेस्टिनीको मृत्यु

By खबरहब

June 08, 2024

गाजा – मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५५ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो सङ्ख्यामा घाइते प्यालेस्टिनीकोलाई अस्पताल पठाइएको बताएका छन् । यसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ ।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पु¥याउन नसकिएको बताएका थिए ।

यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेष्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी कम्तीमा २१० जनाको मृत्यु भएको जनाएको छ ।

इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, “हाम्रो सेनाले यस क्षेत्रमा आतङ्कवादी संरचनामा आक्रमण गरिरहेको र चार इजरायली बन्धकहरूलाई मुक्त गरेको छ ।”

शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको दुई छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ ।

बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको छ ।