काठमाडौं – सिन्धुपाल्चोक स्थाई घर भई हाल जोरपाटी माकलवारी बस्ने राजन सिग्देल बिगत १९ वर्षदेखि ओम अस्पतालमा एम्बुलेन्स चलाउँदै आएका छन्। लामो समय एम्बुलेन्स चालकको रुपमा काम गर्दाका तीता मिठा अनुभव सुनाउँदै राजन भन्छन्, ‘काम त जुनसुकै कठिन हुन्छ। अझ एम्बुलेन्स मानिसको जीवनसँग जोडिएको कुरा हो भनेको समयमा अलिकति तलमाथि भयो भने बिरामी वा घाइतेको ज्यानै जाने खतरा हुन्छ। त्यसैले कहिलेकाहीँ त खान थालेको भात समेत छोड्नु पर्छ। राति भन्न पाइँदैन। जे जस्तो भएपनि आजसम्म सजिलो मानेर काम गरिरहेकै छु।’
२०७२ सालको भूकम्प, २०७५ सालमो यूएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटना र कोभिडको महामारीका बेला सक्रिय भएर काम गरेका एम्बुलेन्स चालक राजनले भने, ‘आफूलाई जे जस्तो समस्या भए पनि विपतको बेला धेरै घाइते तथा बिरामीको ज्यान जोगाउन पाएकोमा आफ्नो पेशाप्रति गर्व लाग्छ।’
‘आफूलाई जे जस्तो समस्या भए पनि विपतको बेला धेरै घाइते तथा बिरामीको ज्यान जोगाउन पाएकोमा आफ्नो पेशाप्रति गर्व लाग्छ।’
भूकम्पको बेला कति मानिस च्यापिएर अङ्गभङ्ग भएका थिए, जसलाई अस्पतालसम्म पुर्याएर उपचार गरी फिर्ता पठाउन सफल भएकोमा उनलाई खुसी मिल्यो।
‘बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा डाक्टर बनिसकेका थुप्रै नेपाली विद्यार्थी लगायत बंगाली नागरिकको ज्यान गएको थियो’, उनले ती दिन सम्झदै भने, ‘धेरै घाइते पनि भएका थिए। त्यसमध्ये आफूले उद्धार गरेर ल्याएको एकजना बंगलादेशका नागरिक जुन सिकिस्त अवस्थामा थिए, उनलाई बचाउन पाएको त्यो समय सम्झदा अहिले पनि सन्तोष लाग्छ।’
त्यस्तै माहामारीकै रुपमा फैलिएको कोरोनाको समयमा कोरोनाको नाम सुन्ने बित्तिकै मान्छेहरु नजिक जान डराउँथे। त्यस्तो अवस्थामा पनि गाउन, पिपी लगाएर संक्रमितहरुलाई अस्पताल पुर्याउने काममा राजन खटिए। । यही सक्रियताका कारण बिरामीले उपचार पाए। यस्ता धेरै घटनाले उनलाई मानवपयोगी कर्मको प्रतिफल पाएजस्तो लागेको छ।
‘सरुवा रोगहरु लागेका बिरामीहरु पनि बोक्नुपर्ने हुँदा आफूले सतर्कता अपनाएन भने धेरै जोखिम हुन्छ। मैले कोभिडको महामारीमा सक्रियताका साथ काम गरेको छु। तर मलाई अहिलेसम्म पनि कोभिड संक्रमण भएको छैन। त्यसैले मास्क लगाउने, बेलाबेलामा हात धुने जस्ता सतर्कता अपनाउन आवश्यक छ’, उनले बताए।
जाम र साँघुरा गल्लीको जोखिम काठमाडौंमा पहिलेको तुलनामा अहिले गाडी तथा पैदल यात्रीको चाप त्यत्तिकै छ। पैदल यात्री पनि धेरै छन्। जसका कारण ट्राफिक जाम समस्या बन्ने गरेको राजन बताउँछन्। उनी भन्छन्, ‘साइरन बजाउँदा पनि कतिपयले बाटो छोड्दैनन्। ट्राफिक नजिकै छ र साइरनको आवाज सुनिरहेको छ भने अलिकति खोलेर सहज गरीदिन्छन्। तर ट्राफिक नभएको ठाउँमा त लाइनमै बसेर जानुपर्ने अवस्था हुँदा बिरामीलाई सास्ती हुन्छ।’
वीर अस्पतालका एम्बुलेन्स चालक राजु महर्जनको गुनासो पनि उस्तै छ। राजु भन्छन्, ‘बिरामीलाई जतिसक्दो चाँडो उपचारको पहुँचमा पुर्याउनु हाम्रो कर्तव्य हो। तर जामले गर्दा समस्या हुने गरेको छ। थापाथलीदेखि कालीमाटी-टेकु क्षेत्रमा प्रतिघण्टा कम्तीमा पनि २÷३ एम्बुलेन्सको साइरन सुनिन्छ। तर, यही क्षेत्रमा एम्बुलेन्स चालकलाई धेरै गाह्रो हुन्छ। प्रसव पीडामा छटपाटाइरहेका गर्भवती बोकेको एम्बुलेन्स हुन्छ। त्यहीँ लामो जामले उनीहरुमाथि पीडा थपिन्छ।’
त्यस्तै काठमाडौं उपत्यका भित्रका साँघुरा गल्ली, ४ तल्ला ५ तल्लाका घर एउटा मान्छे मुस्किलले अटाउने भर्याङबाट सिकिस्त बिरामी ओराल्न कठिन हुने गरेको एम्बुलेन्स चालक बताउँछन्।
कतिपयको एम्बुलेन्समै जान्छ ज्यान काम गर्ने क्रममा कहिलेकाहीँ गाडीमा ल्याउँदा ल्याउँदै बिरामीको मृत्यु हुँदा दुःख लाग्ने गरेको राजन बताउँछन्। उनी भन्छन्- ‘कतिपय घरमै मृत्यु भइसकेकालाई पनि ल्याउनुपर्ने हुन्छ। बिरामी लिन आउनुस् भन्छन्। लिन जाँदा बिरामीको मृत्यु भइसकेको हुन्छ। तर हामीलाई मृत्यु भइसक्यो भन्ने अधिकार हुँदैन र अस्पताल लिएरै जान्छौं।’
उमेर पुगेका, दीर्घ रोगीहरु हुन्छन्, जो अन्तिम अवस्थामा पुगिसकेका हुन्छन् र लिन आउनुस् भन्दै फोन आउँछ। कोही बाटोमै बित्छन्। त्यस्तो बेलामा खासै दुःख लाग्दैन। तर सडक दुर्घटनामा घाइते भएका, लडेर चोटपटक लागेका, करेन्ट लागेका, अचानक हर्ट अट्याक भएका बिरामीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो भने साह्रै पीडा हुन्छ र अलिकति छिटो पुर्याउन पाएको भए बचाउन सकिन्थ्यो कि भनेर पछुतो लाग्छ।
साइरनको छैन कदर राजनका अनुसार ७० प्रतिशतले एम्बुलेन्समा बज्ने साइरनको महत्त्व बुझेका छन्। सहयोग पनि गर्छन्। बाँकी ३० प्रतिशतले अझै बुझेका छैनन्। कतिपयले बाटो काट्दा हात दिने गरेको एम्बुलेन्स चालकहरु बताउँछन्।
‘बिरामी लिन जाँदा र फर्कंदा साइरनको समान महत्व हुन्छ। बिरामी सिकिस्त छ भनेर फोन आउने भएकाले साइरन बजाउन आवश्यक हुन्छ। तर साइरन बजाउँदा ट्राफिकले खाली एम्बुलेन्सले किन साइरन बजाएको भन्छ।
काठमाडौंमा अस्पताल मात्रै नभएर विभिन्न संघ संस्थाहरुका सयौं एम्बुलेन्स छन्। उनीहरुले पनि आफ्नो स्वार्थका लागि साइरनको फाइदा लिने गरेका छन्। यसको भने अनुगमन गर्नुपर्ने उनको भनाइ छ।