समाचार

वर्षाले कञ्चनपुरको जनजीवन प्रभावित, एक शिशुको मृत्यु

By खबरहब

July 08, 2024

कञ्चनपुर– लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरकाे दोधारा वर्षा मापन केन्द्रका अनुसार पछिल्लो तीन घण्टामा यस क्षेत्रमा भारी वर्षा भएको छ ।

उक्त अवधिमा १०३ मिलिमिटर वर्षा भएको दोधारा वर्षा मापन केन्द्रले जनाएको छ ।

महाशाखाले आज थप वर्षा हुनसक्ने जनाएको छ । उक्त क्षेत्र भइ बहने अधिकांश नदीहरुमा जलसतह खतराको बिन्दु आसपास रहेको जनाइएको छ ।

भारी वर्षासँगै खोला तथा नदीमा पानीको सतह बढ्ने हुँदा त्यसबाट पर्नसक्ने असरबाट जोगिन सबैमा अनुरोध गरिएको छ ।

यसैबीच, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियामा डुबान हुँदा घरमा सुतिरहेका सात महिने शिशु सोनु धानुकको मृत्यु भएको छ ।

यस्तै, वेदकोट नगरपालिका–७ सुडा चोक नजिकै रहेको कल्भर्ट पानीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।