समाचार

 ऐतिहासिक ‘जरुँहिटी’ पुनर्निर्माण

By खबरहब

July 08, 2024

ललितपुर– ललितपुर महानगरपालिकाले जावलाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ ।

यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुनर्निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ ।

महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा पुनर्निर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।

उनका अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिबाट प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ ।

ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनर्निर्माण गरिएको बताए ।

उनले भने, ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकारसमाजसँग सम्बन्धित भएकाले आउने दिनहरूमा समाजले नै धाराको संरक्षण गर्नेछ ।’

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनर्निर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए ।