राजनीति

प्रधानमन्त्रीको बचाउमा रास्वपा, सांसद झा भन्छन्- विश्वासको मतमा जाँदा कांग्रेस-एमाले डराए

By खबरहब

July 08, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै झाले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन खोजेपछि त्यसबाट डराएर राजीनामा मागिरहेको बताएका हुन् ।

यसले संविधान र मुलुकको प्रणालीलाई दलहरूले अविश्वास गरेको देखिएको दाबी उनले गरे।

कांग्रेस–एमालेलाई चारदिनमा अर्को राजनीतिक परिस्थिति सिर्जना हुने डर पैदा भएको आरोपसमेत लगाएका छन्।

सांसद झाले कांग्रेस–एमाले सहमतिप्रति पनि आशंका व्यक्त गरे । उनले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई र २०६९ साल चैत्रमा खिलराज रेग्मीलाई संविधान, सदन र सरकार बुझाएझैँ अहिले पनि त्यसरी नबुझाउन सुझाव दिए ।

नयाँ बन्ने सरकारले काम गर्न नसके आफूहरू पालो कुरेर बसेको भन्दै उनले कुनै बेचेनको सहकार्यबिना देशलाई पार लगाउने दाबी गरे ।

सांसद झाले सञ्चारमाध्यमका आएका तर्कहरूका आधारमा सहकारी प्रकरणमा संसदीय छानबिन गठन गरिएको भन्दै अहिले बाहिरिएका राजनीतिक पद  र अख्तियारी दुरुपयोगका घटनामा कुन समिति बनाउने भन्दै प्रश्न पनि गरेका छन् ।