समाचार

मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला

By खबरहब

July 08, 2024

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको बताएका हुन् । 

आफूहरू वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकीत भएको उनले बताए । उनले सरकारभित्र रहँदारहदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र काँग्रेससँगै सहकार्य भएको जिकिर गरे ।

उनले काँग्रेससँगै भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढ्ने बताए । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गरे ।

त्यस्तै उनले लामो समय नदिइ तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गरे ।