मनोरञ्जन

फिल्म बनाउन लागेका हुन् ‘बल्छी’ले ?

By खबरहब

July 08, 2024

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टमा हात हालेको जानकारी दिएका छन् । जनयुद्धको कथामा आधारित ‘राधा’ उनले सुरु गरेको नयाँ प्रोजेक्ट हो ।

पछिल्लो समय सिरियल निर्माण र निर्देशनमा व्यस्त बल्छीको यो घोषणाले कौतुहलता पैदा गर्छ । उनले ‘राधा’ फिल्म हो कि सिरियल प्रष्ट पारेका छैनन् ।

उनको सामाजिक सञ्जालको कमेन्ट बक्समा समर्थकहरूले ‘फिल्म हो कि सिरियल ?’ भन्ने प्रश्न गरेका छन् ।

फिल्म निर्माणको योजनामै रहेका बल्छीको यो प्रोजेक्ट फिचर फिल्मको होइन । सिरिज निर्माण गर्न लागेका हुन् । तर फरक शैलीमा प्रशारण गर्ने योजनमा छन् ।

बल्छीका अनुसार साउन ५ गतेबाट छायांकनमा निस्किने तयारी छ । लम्जुङका विभिन्न स्थानमा छायांकन गर्ने तालिका बनाइँदैछ ।

‘राधा’का लागि कलाकार छनोट भइनसकेको उनी बताउँछन् । भन्छन्, ‘मेरो पनि अभिनय हुन्छ कि हुँदैन ठेगान छैन ।’

यद्यपि यसको लेखक र निर्देशक आफ्नै रहने उनले जानकारी दिएका छन् ।