अन्तर्राष्ट्रिय

विद्युत महशुल वृद्धिको विरोधमा पाकिस्तानमा प्रदर्शन

By खबरहब

July 08, 2024

काठमाडौँ– आगामी आर्थिक वर्षका लागि सरकारले कर तथा विद्युत् महशुल वृद्धि गरेको भन्दै पाकिस्तानका विभिन्न शहरमा प्रदर्शन गरिएको छ । 

राजधानी इस्लामावादमा व्यापारीहरुले आबपारा चोकमा प्रदर्शन गर्दै मुख्य सडकमा चक्काजाम गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अन्जुमन ए ताजिरानको आह्वानमा आयोजना गरिएको प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरी प्रदर्शनरत भिडलाई तितरबितर पारेको छ ।

सरकारविरोधी नारा लगाउँदै प्रदर्शनकारीले विद्युत महशुल वृद्धिको विरोध गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । 

चुनावका बेला नेताहरुले ३ सय युनिटसम्म बिजुली सित्तैमा दिने बाचा गरेको भएपनि अहिले आएर विद्युत् महशुल बढाउनु अशोभनीय रहेको प्रदर्शनकारीले उल्लेख गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री शहबाज शरिफको राजीनामा पनि मागेको पाकिस्तान टुडेले जनाएको छ । एकातिर १२ घण्टा विद्युत् आपूर्ति अवरुद्ध भइरहेको अवस्थामा सरकारले विद्युत महशुल बढाएकोप्रति पाकिस्तानमा चरम आक्रोश रहेको जनाइएको छ ।