सरकारमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठजोड दुई दलीय अभ्यासको पूर्वाभ्यास हो भन्ने धेरैको बुझाई छ । विश्वव्यापी रूपमा थ्रेसहोल्डको अभ्यास कस्तो भन्दा पनि नेपालका सन्दर्भमा थ्रेसहोल्डको प्रयोग के र कुन प्रयोजनका लागि गरियो भन्ने महत्त्वपूर्ण प्रश्न हो । यदि थ्रेसहोल्ड अहिले रहेको विद्यमान ३ प्रतिशतलाई बढाएर १० प्रतिशतमा पुर्याउने दुई ठूला दलको कसरत/अभ्यास सफल भएमा भोलिका दिनमा नेपालको राष्ट्रिय राजनीतिमा, केन्द्रको राजनीतिमा, प्रदेशको राजनीतिमा साना राजनीतिक पार्टीहरूको उपस्थिति लगभग लगभग शून्य हुने अवस्था आउँछ भनेर चिन्ता पनि व्यक्त भइराखेको छ । साना दलको त्रास छ– थ्रेसहोल्डको सीमा ३ प्रतिशत विद्यमानबाट बढाएर १० प्रतिशत पुर्याउने हो भने मुलुकमा अधिनायकवादी व्यवस्था मौलाउन सक्छ । यिनै विषयमा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
कांग्रेस–एमालेले थ्रेसहोल्डलाई बढाएर १० प्रतिशत पुर्याउन कानुन नै संशोधन गरौँ भनेर नयाँ बहस सुरु गरेका छन् । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेका तपाईँहरूको के प्रतिक्रिया छ ?
राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्ड कटाउनु पर्ने भन्ने मान्यता छ । त्यो राष्ट्रिय दलको लागि हो । प्रत्यक्ष चुनाव जित्नको थ्रेसहोल्ड यति र उति प्रतिशतको जरुरी पर्दैन । तर पछिल्लो समय सीमित जातका मान्छे वा हिजोको दिनमा बहुमतीय शासन प्रणाली वा ठूलो दलले शासन गर्ने र अरु शासित हुनुपर्ने जुन अभ्यास हामीले गरिरहेका थियौँ । पुन : त्यही अभ्यास स्थापित गराउन खोजेको जस्तो देखिन्छ ।
नेपालको समावेशी लोकतन्त्रलाई कमजोर बनाउने, संविधानको मूलभूत भावना, मर्मलाई सक्ने उहाँहरूको त्यो खालको प्रयत्न छ । र मेरो विचारमा प्रयत्न सम्भव हुँदैन । यदि ठूलो दल हौँ भन्ने हो, दम्भ नै गर्ने हो भने ५० प्रतिशतको नै थ्रेसहोल्ड राख्नुहोस् न । अथवा ४० प्रतिशतको राखिदिनुहोस् । आफूलाई केन्द्रीकृत गरेर नीति बनाउने, थ्रेसहोल्डको सीमाङ्कन गर्ने कुरा त गलत हो । त्यसैले उहाँहरूले समावेशी लोकतन्त्रलाई कमजोर बनाउने प्रयत्न गरेको महसुस हामीले गरेका छौँ ।
यति बेला विश्वव्यापी रूपमा कस्तो अभ्यास छ र नेपालमा के गरिनुपर्छ भन्ने लाग्छ ?
अहिले हामीले अभ्यास गरेको समावेशी लोकतन्त्र हो । एकदम सीमान्तकृत वर्गका मान्छेहरू पनि राष्ट्रको मूलधारमा आउने कुरा धेरै महत्त्वपूर्ण विषय छ । ३३ प्रतिशत महिला समेटिने, ११ प्रतिशत दलितको उपस्थिति हुने कुरा छ । नेपालमा जति प्रकृतिका जातजातिका मान्छेहरू छन् , सबै राष्ट्रको मूलधारमा समेटिएका छन् । हिजोको दिनमा यो खालको अवस्था थिएन । एउटा मात्रै जातिले राज्य गर्ने कुरा रङको नाममा एउटा रङ होइन फूलको नाममा एउटा फूलको अवस्था थियो । तर हामीले प्राप्त गरेको लोकतन्त्रले सबै मान्छेहरू कम्तीमा यो राष्ट्र मेरो हो भनेर देशप्रति गर्व गरिरहेको अवस्था छ । आज ठूला दल भनिएकाले यो कुरालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । आलोपालो नेतृत्वका सन्दर्भले जनतामा निराशा छाउन खोजेको छ ।
उहाँहरूको साना दलको कारणले मुलुक समृद्ध भएन भन्ने जुन विषय छ, २०१५ साल देखि अहिले सम्म कति वटा पार्टी थिए त ? अहिले सम्मको नेतृत्व कि कांग्रेस कि एमालेले नै गरेको छ । ०६४ भन्दा अगाडि दुई पार्टी सिस्टम हुँदा देश सबैभन्दा गरिब भयो । देशको सबैभन्दा धेरै ऋण थपिएको छ । वास्तवमा अहिले सबैभन्दा धेरै पुँजीगत खर्चमा दबाब परेको छ । आफू देश बिगार्ने, मुलुक कमजोर बनाउने अनि दोष अरूलाई थोपर्न मिल्दैन ।
त्यो सन्दर्भमा त एउटा सत्य त होला । तर २, ४ सिटेले राज्यसत्ताका लागि थापेको च्याँखे त लोकतन्त्रकै लागि बदनाम बनाएको त साँचो हैन र ? त्यो बेला दुई मात्रै पार्टी थिए । ठूला पार्टीहरूको आलोपालो थियो । ०६४ सालसम्म त २ वटा मात्रै राजनीतिक दल थिए । त्यो बेला मुलुकले स्थायित्व किन पाएन ? २ वर्षभन्दा बढी सरकार किन टिकेन । ०४८ साल र ०५६ सालमा पनि बहुमत थियो । तर सरकार किन चलेन ? अझ पछिल्लो समय कम्युनिस्ट पार्टीको दुई तिहाइ सरकार थियो । आखिर त्यो बेला पनि त सरकार टिकेन ।
कांग्रेस र नेकपा एमालेका शीर्ष भनिएका नेतासँग धेरै मुद्दाहरू जोडिएका छन् । चाहे भुटानी शरणार्थी बनाएर पैसा असुल्ने वा गिरीबन्धु लगायतका विषय हुन् । यी विषय जनता र राष्ट्रसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । नीतिगत भ्रष्टाचारका यी विषयले देशकै अन्तर्राष्ट्रिय छवि बिग्रिएको छ । यो मुद्दालाई विषयान्तर गर्न नै कांग्रेस–एमालेको समीकरण बनेको हो ।
२०७२ सालको संविधान जारी भइसके पछाडि जति बेला तपाईँहरू नेकपा एमालेकै राष्ट्रिय राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । त्यति बेला १० प्रतिशतको तर्कलाई सही मानेको स्मरण कतिको छ ?
हिजोको दिनमा हामीले नीति बनाउने वा भन्दा सुनिने ठाउँमा थिएनौँ । त्यो बेला केपी ओली नै हाली मुहाली गर्ने ठाउँमा थिए । उनको इच्छा आफू मात्रै सत्तामा जाने भन्ने हो । तर पनि एउटाले के गरे के गरेनन् भन्ने सन्दर्भमा म त्यति बेला एमालेमा नै भएको कारणले नैतिक जिम्मा त लिनै पर्छ । तर त्यो खाले नीति निर्माण गर्ने तहमा मेरो आफ्नो भूमिका चाहिँ थिएन ।
त्यस बखत सिपी मैनालीहरूले थ्रेसहोल्डको विरोध गर्दा आवाजको सुनुवाइ नभएकै हो नि ? राष्ट्रिय दल, राष्ट्रिय भूमिका वा मूलधारमा आउला नआउला त्यो ठूलो कुरा होइन । तर आज जुन कारणले सबै खालका मान्छेहरू राष्ट्रको मूलधारमा आउने वातावरण बनेको छ, त्यो आफैँमा राजनीतिक उपलब्धि हो ।
समावेशी लोकतन्त्रमा धेरै भन्दा धेरै राजनीतिक दलहरूको सहभागी हुनु पर्छ । तर दुई मात्रै पार्टीको परिकल्पना गरेर आफूले मात्रै मनपरी ढंगले सरकार चलाउन पाउने खालको वातावरण निर्माण गर्न खोज्नु त यो भन्दा मूर्ख केही हुँदैन । जुन तरिकाले उहाँहरूले सोच्नुभएको छ, त्यो त सम्भव नै छैन ।
नेकपा एमालेबाट विभाजन भइसकेपछि तपाईँहरूको राजनीतिक यात्रा लगभग लगभग सत्ता रोहणमै घुम्यो । न सडक, न संसद्, न सरकार यो अवस्थाले तपाईँहरू कहाँ पुग्नु होला ? पार्टीमा नयाँ पुराना मान्छेहरू आउने जाने त भइरहन्छ । मूल कुरा भनेको मुद्दा हो । राजनीतिक दलसँग मुद्दा छ कि छैन भन्ने मुख्य कुरा हो । आज हामी कमजोर हौँला भोलि हामीले जनताले मन पराउने गरी समस्या उठाउन सक्यौँ भने पार्टी ठूलो भएर आउँछ । तर नगरे पार्टी हराएर सकिएर जान्छ । यो त प्राकृतिक प्रक्रिया हो नि ।
अब तपाईँहरूको एजेन्डा के हो ? यो महाधिवेशनमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने कुरा थियो, हामीले बनायौँ । र त्यसपछि हामी कम्युनिष्ट भन्छौँ तर अहिले पनि कुनै पनि कम्युनिष्ट भनिने राजनीतिक दलमा भावी कार्यदिशा के हुने भन्नेमा कुनै योजना छैन ।
हामीले महाधिवेशनमा समाजवादी मोडेलको समाज व्यवस्थाको परिकल्पना गरेका छौँ । अर्को कांग्रेसप्रति त हाम्रो कुनै गुनासो छैन । तर केपी ओलीले गरेका गलत कुरा त जनतालाई भन्नु पर्यो । थाहा दिनु पर्यो ।
हामी देश बनाउनु पर्छ भन्ने कुरा गर्छौँ, लोकतन्त्रका कुरा गर्छौँ, जनताका कुरा गर्छौँ यो सबैलाई मूलधारमा ल्याउने कुराको विषयमा योजना हुनुपर्छ ।
सरकारमा त्यत्रो समय बस्दा हामीले त्यसको सुरुवात यहाँबाट गर्यौं भन्न सक्नुहुन्छ ? महाधिवेशन नहुँदा हामी पनि ‘चल्ते चलाते’ तरीकाले नै अघि बढ्यौँ । एकाध सीट लिएर सरकारमा गयौँ र मुख्य मान्छे हुन सकेनौँ । त्यस कारण यो गर्छु , त्यो गर्छु भन्दा जनताले नपत्याउने भए । शक्ति सामर्थ्यले पनि भ्याएन । मुख्य कुरा भनेको समाजवादी मोडेलमा राज्य व्यवस्था निर्माण गर्ने कुरामा कम्तीमा थालनी भएको छ ।
एमाले नेतृत्व गरेर आएका माधव नेपाल, झलनाथ खनाल तपाईँहरूका सारथि हुन् । एमालेमा हुँदा केही गर्न नसक्ने तर समाजवादी नामक पार्टी खोलिसकेपछि कायापलट हुन्छ भनेर कसरी पत्याउनु ? हामी सबै नेकपा एमालेकै पृष्ठभूमिमा कोही माले, कोही मार्क्सवादीबाट आएका हौँ । माओवादीसँग मिलेर नेकपा पनि भयौँ । तर जुनबेला नेकपा एमालेबाट माधव नेपाल प्रधानमन्त्री हुनु भएको छ । आज प्रधानमन्त्री भएका समकालीन नेता हेर्दा सबैको फरक विश्लेषण हुन्छ । माधव नेपालले ०५१ सालमा कम्युनिष्ट भन्नासाथ मान्छे मार्छ भन्थे । नेपालले प्रधानमन्त्री भएको बेला लोक कल्याणकारी काम आरम्भ गर्नुभयो ।
०६५/०६६ सालमा राष्ट्रपतिको प्रतिगामी कदम विरुद्ध भनेर माओवादीले संघर्ष गरिरहेको समयमा माधव नेपाल प्रधानमन्त्री हुँदा के गर्नुभयो ? त्यति बेला हामीले माधव कुमार नेपालको नेतृत्वमा ठूला ठूला आयोजना सुरु भएका छन् । जुन अहिले पूरा भएका छन् । तुलनात्मक रूपमा माधव नेपालको कार्यकाल उत्कृष्ट । त्यसलाई निरन्तरता दिन उहाँ फेरि प्रधानमन्त्री हुन जरुरी छ ।
अब त माधव नेपाल पुस्तालाई तपाईँहरूले विश्राम लिनुस् भन्ने बेला भएन र ? हामीले भनिरहेका छौँ तर एक पटक फेरि पनि माधव नेपाल नेतृत्वको आवश्यकता छ भन्ने मनोविज्ञान जनता र हामीमा पनि छ ।
एमालेसंग मिल्ने सम्भावना कति छ ? हामी नेकपा एमालेसँग कुनै हालतमा मिल्दैनौँ ।