समाचार

पञ्चायत घरको जीर्णोद्धार

By खबरहब

August 08, 2024

बागलुङ– बागलुङको तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाखको लागतमा जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने बताइएको छ ।

तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विनियोजन गरेको दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताए ।

पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।