समाचार

सांसदले भ्रष्टाचारसम्बन्धी हदम्याद नराख्न समितिको सुझाव

By खबरहब

August 08, 2024

काठमाडौं– सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले भ्रष्टाचारसम्बन्धी मुद्दामा जुनसुकै समयमा पनि अनुसन्धान र पक्राउ गर्न सक्ने गरि हदम्याद राख्न नहुने सुझाव दिएका हुन् । 

साथै उनीहरूले नियमन निकायलाई प्रभावकारी र जिम्मेवार बनाउनका लागि निरन्तर नियमनको आवश्यकता रहेको बताएका छन् । समिति सदस्य गगन कुमार थापाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने गरि अर्को व्यवस्था गर्नुपर्ने बताए । उनले भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद नराख्ने पहिलेकै व्यवस्थालाई कायम राख्नुपर्ने उल्लेख गरे । थापाले सम्पत्ति विवरण नबुझाउनेको जरिवानालाई बढाउनुपर्ने सुझाव दिए ।

त्यस्तै समिति सदस्य माधव सापकोटाले भ्रष्टाचारबिरुद्ध जागरण अभियान सञ्चालन गर्न कानूनी व्यवस्था गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने संस्थाको समायानुकुल सुदृढीकरण जरुरी रहेको उनले बताए ।

त्यस्तै समिति सदस्य रोशन कार्कीले भ्रष्टाचार निवारण गर्नका लागि राजनीतिक प्रतिवद्धता र कार्यान्वयन हुनुपर्ने बताए । भ्रष्टाचारजन्य कसुरमा कैदको समय कम भएकाले त्यसलाई बढाउनुपर्ने बताए  ।