अन्तर्राष्ट्रिय

बुद्धदेव भट्टाचार्य : जसको हारसँगै पश्चिम बंगालमा ढलेको थियो ३४ वर्ष लामो कम्युनिस्ट शासन

By खबरहब

August 08, 2024

काठमाडौं- भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री एवं कम्युनिस्ट नेता बुद्धदेव भट्टाचार्यको बिहीबार निधन भएको छ ।

भट्टाचार्यको ८० वर्षको उमेरमा कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निवासमै स्थानीय समयअनुसार बिहीबार बिहान ८.२० बजे निधन भएको हो ।

उनी लामो समयदेखि बिरामी थिए । उनको श्वासप्रश्वासमा समस्या थियो । त्यसकै कारण उनलाई कयौँ पटक अस्पतालमा भर्ना गरिएको थियो। उनको निधनको खबरले पश्चिम बंगालको राजनीतिक जगतमा शोक छाएको छ । बुद्धदेवको निधनको पुष्टि छोरा सुचेतन भट्टाचार्यले गरेका छन् ।

भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको सातौँ मुख्यमन्त्री बनेका थिए । उनी एक चर्चित भारतीय राजनीतिज्ञ तथा मार्क्सवादी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य थिए ।

उनले जाधवपुर विधानसभा क्षेत्रबाट १४ मे २०११ सम्म विधायक रहे। २४ वर्षसम्म विधायक रहेपछि उनी आफ्नै सरकारका पूर्व मुख्य सचिव मनीष गुप्तासँग पराजित भए ।

उनी आफ्नै विधानसभा क्षेत्रमा हार्ने पश्चिम बंगालका दोस्रो मुख्यमन्त्री थिए । उनीभन्दा अघि प्रफुल चन्द्र सेन सन् १९६७ मा आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए ।

बुद्धदेव भट्टाचार्य पश्चिम बंगालका पूर्वमुख्यमन्त्रीसँगै एक प्रमुख कम्युनिस्ट राजनीतिज्ञ थिए । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का वरिष्ठ नेता उनको जन्म १ मार्च १९४४ मा भएको थियो । उनले पाँच दशकभन्दा लामो समय राजनीतिमा बिताए ।

खुला व्यापार नीतिका पक्षपोषक

बुद्धदेव ब्यापारप्रति आफ्नो अपेक्षाकृत खुला नीतिका लागि परिचित थिए । उनले आफूलाई भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) पार्टीले पारम्परिक रूपमा अंगाल्दै आएको पुँजीवाद विरोधी धारबाट विपरीत उभ्याएका थिए । मुख्यमन्त्रीका रूपमा उनको कार्यकालमा भूमि अधिग्रहणबारे भएको विरोध दबाएको र प्रदर्शनकारीविरुद्ध हिंसा गरेको आरोप सामना गर्नुपर्‍यो । सन् २०११ कव चुनावमा उनको हारको कारणमध्ये यो पनि बन्यो ।

यस हारले पश्चिम बंगालमा वाम मोर्चाको ३४ वर्ष लामो शासन पनि समाप्त गरिदियो । जुन लोकतान्त्रिक रुपमा चुनिएको विश्वकै सबैभन्दा लामो कम्युनिस्ट सरकार थियो। भट्टाचार्य पश्चिम बंगालमा मार्क्सवादी पार्टीका अन्तिम मुख्यमन्त्री बने । उनी चर्चित कम्युनिस्ट नेता ज्योति बसुका उत्तराधिकारी थिए । बसुका उत्तराधिकारीका रुपमा उनले सन् २०११ सम्म सत्ता सम्हाले । त्यसबेलासम्म ममता बनर्जीको तृणमूल कांग्रेस (टीएमसी) सत्तामा आउन सकेन ।

ज्योति बसुका उत्तराधिकारी

बुद्धदेव भट्टाचार्य सन् २००० देखि सन् २०११ सम्म बंगालका मुख्यमन्त्री थिए । उनले माकपाका वरिष्ठ नेता ज्योति बसुको स्थान लिएका थिए । बुद्धदेव भट्टाचार्य भारतको पूर्वी राज्यको अन्तिम वामपन्थी मुख्यमन्त्री थिए । त्यसपछि पश्चिम बंगालमा कम्युनिस्टले टाउको उठाउन सकेनन् ।

सन् २०११ को विधानसभा चुनावमा वर्तमान मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस (टीएमसी) सँग उनी र उनको दल नराम्ररी हार्‍यो । यससँगै पश्चिम बंगालमा वामपन्थीको ३४ वर्ष लामो शासन पनि पतन भएर गयो ।

उनको कार्यकाल ममता बनर्जीको नेतृत्वमा उद्योगका लागि भूमि अधिग्रहणलाई लिएर भएको प्रदर्शनबाट परिभाषित हुन पुग्यो । उनले सन् २०१५ मा माकपा पोलिटब्यूरो र केन्द्रीय समितिबाट राजीनामा दिए । उनले त्यसको ३ वर्षपछि पार्टीको राज्य सचिवालयको सदस्यता पनि छाडे ।

पछिल्ला केही वर्षमा बुद्धदेव भट्टाचार्य ज्यादाजसो सार्वजनिक कार्यक्रमबाट परै रहे । उनी दक्षिण कोलकाताको पाम एभेन्युमा आफ्नो दुई कोठे सरकारी फ्ल्याटमै सीमित भए ।

उनको अन्तिम सार्वजनिक उपस्थिति सन् २०१९ को लोकसभा चुनावअघि कोलकातामा भएको थियो । त्यसबेला उनले अक्सिजन सपोर्टसहित ब्रिगेड परेड ग्राउन्डमा वामपन्थीको र्‍याली अघोषित रूपमा पुगेर आफ्ना पार्टी कार्यकर्तालाई चकित बनाइदिएका थिए ।

सत्ताबाट बहिर्गमन

राज्यमा तीव्र गतिको औद्योगिकीकरणका लागि भट्टाचार्यको प्रयास नै सीपीएमलाई सत्ताबाट बाहिरिने कारण बन्यो । पश्चिम बंगाल लागतार ३४ वर्षसम्म दुई कम्युनिष्ट मुख्यमन्त्रीको अधीनमा थियो । भट्टाचार्यले वाममोर्चा सत्तामा फर्किएपछि टाटा मोटर्सलाई हुगलीको सिंगुरमा अटोमोबाइल कारखाना बनाउन भनेका थिए । तर उनको त्यही कार्यकाल नै पश्चिम बंगालमा कम्युनिस्ट शासनका लागि अन्तिम बन्यो ।

ममता बनर्जी र एक इन्द्रधनुषी गठबन्धनको नेतृत्वमा सिंगुर र नन्दीग्राममा भूमि अधिग्रहण विरोधी आन्दोलनले वाम मोर्चा शासनलाई नउठ्ने गरी समाप्त गरिदियो ।

सन् २०२४ को लोकसभा चुनावका क्रममा सीपीएमले बंगालका मतदातालाई सम्बोधन गर्ने भट्टाचार्यको एआई निर्मित भाषण जारी गरेको थियो । जसमा उनले मतदाताहरूलाई भारतीय जनता पार्टी र तृणमूल दुवैलाई खारेज गरिदिन भनेका थिए। उत्कृष्ट कवि र अनुवादक भट्टाचार्य एक सौखिन पाठक पनि थिए। उनी गेब्रियल गार्सिया मार्केजलाई आफ्नो आदर्श मान्थे ।