समाचार

कृषि मन्त्रालय प्रत्यक्ष किसानसँग जोडिनुपर्छ : मन्त्री अधिकारी

By खबरहब

August 08, 2024

ललितपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्षरूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

कृषि विभागले आज ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारीतवरले कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

‘कृषकका समस्या सामाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा जोड दिए। 

मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।