काठमाडौं– २०७४ सालअघि मनाङका दीपक मनाङे ठूला गुन्डा नाइकेहरूको सूचीमा भेटिन्थे । असली नाम ‘राजीव गुरुङ’ रहेका दीपक मनाङेलाई ठमेलमा विवादास्पद व्यवसायका आडमा गुण्डागर्दी गरेको आरोप लाग्ने गरेको छ ।
ठमेलका डान्सबार, डिस्को र गजल रेस्टुरेन्ट एकलौटी कब्जा जमाएका उनी आपराधिक पृष्ठभूमिबाट राजनीतिमा उदाएको नेताका रूपमा चिनिन्छन् । यति मात्रै होइन, चक्रे मिलन भनिने मिलन गुरुङको हात छिनाएको आरोपमा मनाङे डिल्लीबजार जेल परेका थिए ।
तर २०७४ सालको निर्वाचनपछि उनको परिचय फेरियो । त्यसयता उनी औपचारिक रूपमा राजनीतिमा छन् । राजनीतिमा सक्रिय भएपछि पनि उनको चर्चा उत्तिकै छ । उनी राजनीतिमा लागेयता ६ पटक प्रदेश मन्त्री भइसकेका छन् । उनले एक पटक पाएको मन्त्री पद छाड्ने व्यक्तिका रुपमा चर्चा कमाएका छन् ।
०७४ सालमा मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित उनलाई त्यसबेला नेकपा एमालेले सघाएको थियो । प्रदेश सांसदको उम्मेद्वारी दिँदा गुरुङलाई ठमेल क्षेत्रका व्यापारीबाट नियमित रकम असुल असुल्ने गुन्डा भनेर पनि आरोप लगाइएको थियो । तर उनले मनाङ प्रदेशसभा ‘ख’ बाट १४१० मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वीले १०२० मत पाए ।
यस्तै, ०७९ सालको प्रदेशसभा निर्वाचनमा मनाङे सर्वसम्मत निर्वाचित भएका थिए ।
६ पटकसम्म मन्त्री
स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङेलाई पहिलो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा समावेश गरेका थिए । त्यसपछि उनी कृष्णचन्द्र नेपालीको मन्त्रिपरिषद्मा पनि सामेल भए । पहिलो कार्यकालमा उनी तीन पटक युवा तथा खेलकुद मन्त्री बने ।
यस्तै ०७९ को निर्वाचनपछि उनी ३ पटक मन्त्री भए । भौतिक पूर्वाधार मन्त्री भएको तीन पटकपछि उनलाई सोमबार वम मन्त्रालयमा सारिएको थियो । तर त्यो मन्त्रालय उनले लिन चाहेनन् ।
सबै पार्टीमा मनाङेको रजगज
कहिले स्वतन्त्र सांसद त कहिले नेकपा एमालेमा प्रवेश गर्दै एकीकृत समाजवादीको एक मात्रै सांसद बनेका मनाङे अहिले नेकपा एकीकृत समाजवादीबाट अलग भएर स्वतन्त्र बनेका छन् ।
उनले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै आफ्नो उद्देश्यसँग मेल खाने र नीति सिद्धान्त विचारमा मेल खाने पार्टी भन्दै एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा उनले एकीकृत समाजवादी छोडे कुनै पनि पार्टीमा प्रवेश नगर्ने बाचा गरेका थिए ।
त्यसपछि कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारको मन्त्रिपरिषद्को शपथ लिएपछि उनी नेकपा एकीकृत समाजवादी सँग टाढिए ।
त्यसबेला उनले आफू अब स्वतन्त्र सांसदको रूपमा रहेको दलील पेस गरेका थिए । मनाङे सांसद निर्वाचित भएपछि मात्रै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाले उनको पद जोगिएको थियो ।
उनले गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्न आफूले कांग्रेसलाई सघाएको दाबी गरेका थिए । त्यसबेला नेकपा एकीकृत समाजवादी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा भएका कारण गुरुङले यस्तो कदम चालेको दाबी गरेका थिए ।
यति मात्रै होइन, वामदेव गौतमको नेकपा मिलाउने राष्ट्रिय एकता अभियानको केन्द्रीय सदस्यसमेत बनेका मनाङे भाइरल सांसद बनेका छन् । उनी कहिले सर्ट फुकालेर सेन्डोमै मन्त्रालय छिर्छन त कहिले पैसामा मन्त्रालय बेच्ने बताउँछन् । तर उनी यसबारे सोध्दा आफू राजनीतिबाट दिक्क भएर रेला गरेको तर्क गर्छन् ।
त्यो त रेला हो : मनाङे
आफू प्रदेश सरकारलाई स्थायी बनाउन विभिन्न समयमा मन्त्री भएको उनको दाबी छ । मनाङे भन्छन्, ‘प्रदेश सरकारको स्थायित्वको लागि मन्त्री हुनु परेको हो । मलाई कुनै लोभ छैन । लोभ भएको भए त म किन यो पटक मन्त्री पद छाड्ने थिएँ । मैले मन्त्रालय बेचेको पनि होइन । रेला गरेको हो । मलाई पैसा किन चाहियो र !’
उनले प्रदेश सरकारको स्थायित्व र विकासमा लागि आफू बीस पटक मन्त्री भए पनि जनताको सेवामा लागिरहने बताए ।
प्रदेश सरकार केन्द्रको अधिनमा चल्नु भएन । राजनीति दिक्क लाग्दो भयो । हामीजस्ता युवाले सुधार गर्नुपर्छ भन्ने मेरो मान्यता छ । उनले भने, ‘म कुरा भन्दा पनि काम गर्ने मान्छे हो ।’
राजनीति बिग्रिँदा मनाङे प्रवृत्ति जन्मियो : विश्लेषक सुवेदी
राजनीतिक विश्लेषक झलक सुवेदी समस्या मनाङेमा मात्रै नभएको उनलाई संरक्षण गर्ने दल र व्यक्तिहरूको पनि भएको दाबी गर्छन् ।
निर्वाचन जितेर जो कोही पनि सांसद हुने र सांसद भएपछि मन्त्री हुन पाउने सिस्टमले मनाङे आएको भन्दै सुवेदी यसलाई निर्वाचनको कमजोर पाटो भएको बताउँछन् । उनले निर्वाचन लड्न पनि आचारसंहिताले गाइड गर्न नसक्दा यस्ता व्यक्तिले सरकारमा बर्चस्व जमाएको दाबी गरे ।
‘दीपक मनाङेको चरित्र नै डन हो । उहाँको समस्या हैन । यसलाई मन्त्री हुने ठाउँसम्म पु¥याइदिने काम राजनीतिक दलहरूले गरेका हुन् । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी के–के हुनुपर्ने सबै हुनसक्ने क्षमता उनले राखे,’ विश्लेषक सुवेदीले भने, ‘दलहरूले राजनीतिक स्वार्थ पूरा गर्न मनाङे जस्ता पात्रको सहारा लिए । मनाङेमा मात्रै समस्या होइन, यो राजनीतिक दलकै समस्या हो ।’
मनाङेले आफ्नो व्यवहार अनुसारको काम गरेको देखिएको तर उनलाई दलहरू खराब हुनाले संरक्षण गरेको सुवेदीको तर्क छ । उनले भने, ‘मनाङे राजनीतिक दलको विम्ब हो । उनको बारेमा टिप्पणी गर्नुपर्ने कुनै कारण देख्दिनँ ।’