समाचार

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

By खबरहब

October 08, 2024

काठमाडौं–  सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञ सम्मिलित  पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्रलगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श गर्नेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयले एक सय दिनमा पूरा गर्ने कामको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरिने बुँदा पनि समावेश थियो । सोही अनुसार उक्त आयोग गठन भएको हो । आयोगले कार्यविधि भने आफैँ तय गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।