काठमाडौं- आज विश्व रेडियोग्राफी दिवस । स्वास्थ्य सेवामा रेडियोग्राफीको महत्त्व र यसबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल लगायत विश्वभर मनाइँदै छ ।
रेडियोग्राफीका आविष्कारक विलहेल्म रोईन्टेनले सन १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखमा यो दिवस मनाइन्छ । सुरुवाती अवस्थामा जोर्नीहरूको चोटपटक लाग्दा गरिने रेडियोग्राफीको प्रयोग अहिले शरीरका विभिन्न रोगहरू पत्ता लगाउनका लागि हुँदै आएको छ ।
एक्स-रे, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफी जस्ता प्रविधिमा रेडियोग्राफीले इमेजिङ गर्ने काम गर्छ ।
त्यही इमेजका आधारमा बिरामीको उपचार हुने भएकाले हरेक रोगहरूको उपचारमा रेडियोग्राफीको भूमिका महत्त्वपूर्ण मानिएको छ । तर चिकित्सकको सल्लाहबिना यसको प्रयोग उचित नहुने विज्ञहरू बताउँछन् ।
रेडियोग्राफी भनेको के हो ? कस्ता कस्ता उपचारमा यसको प्रयोग हुन्छ ? रेडियोग्राफी गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? यिनै विषयमा आधारित रहेर त्रिवि शिक्षण अस्पतालमा कार्यरत इमेजिङ टेक्नोलोजिष्ट दिनेश मिश्रसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंश :
रेडियोग्राफीलाई हामीले कसरी बुझ्ने ?
रेडियोग्राफी प्रविधिमा दुई थरी म्यानपावर हुन्छ । एउटा रेडियोलोजिष्ट अर्को रेडियोग्राफर रेडियोग्राफरको काम भनेको एक्स-रे, सिटी स्क्यान, एम आर आई, डीएचएन गर्ने हो । यसको लागि विभिन्न मेसिनहरू हुन्छन्, जसबाट फोटो निकालिन्छ त्यसलाई रेडियोग्राफी भनिन्छ । यसमा हामीले सकेसम्म कम रेडिएसनको प्रयोग गरेर राम्रो इमेज अर्थात् फोटो निकाल्नुपर्ने हुन्छ ।
कस्तो अवस्थामा रेडियोग्राफीको आवश्यकता पर्छ ?
सुरुवाती अवस्थामा रेडियोग्राफीको काम हातखुट्टा भाँचिदा वा शरीरको कुनै पनि जोर्नीहरूमा चोटपटक लाग्दा गरिन्थ्यो । रेडियोग्राफीका आविष्कारक विलहेल्म रोईन्टेनलले आफ्नो श्रीमतीको हातको एक्स–रे गरेर रेडियोग्राफीको सुरुवात गरेको मानिन्छ। अहिले आएर शरीरका विभिन्न भागका चोटपटकको एक्स–रे, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफी जस्ता प्रविधिमा रेडियोग्राफीले इमेजिङ गर्ने काम गर्छ । र सोही इमेजका आधारमा बिरामीको उपचार हुने भएकाले हरेक रोगहरूमा रेडियोग्राफीको भूमिका महत्त्वपूर्ण छ ।
रेडियोग्राफी गर्दा ध्यान दिनुपर्ने कुराहरु चाँहि के के हाेलान् ?
दुइदेखि तीनवटा प्वाइण्टमा यसलाई समराइज गर्नुपर्छ। कुनै पनि चिज जस्तै बिजुलीको प्रयोग हामीले सही तरीकाले गर्यौँ भने ज्यान जोगाउने काम पनि गर्छ, अलिकति गलत प्रयोग भयो भने ज्यान जाने जोखिम रहन्छ ।
त्यसैले सही तरिकाले, सही ठाउँमा, सही डोज दिएर रेडियोग्राफी गर्नुपर्छ । न्यूनतम् कति रेडिएसन दिएर त्यो ठाउँको इमेज निकाल्न सकिन्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यसमा प्रयोग हुने रेडिएसनको जति फाइदा छ त्यति नै बेफाइदा पनि छ । सही तरीकाले प्रयोग भए यसले क्यान्सर पत्ता लगाउने काम गर्छ भने सही तरिकाले प्रयोग नभए रेडिएसनकै कारण क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
कस्तो अवस्थामा रेडियोग्राफी गर्न मिल्दैन ?
अहिले उपचारमा नयाँ नयाँ प्रविधिको विकास भएजस्तै रेडियोग्राफीमा पनि नयाँ नयाँ मेसिनहरूको प्रयोग हुन थालेको छ । सबै उमेर समूहका व्यक्तिले रेडियोग्राफी गराउन सक्छन् । तर कतिपय अवस्थामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
जस्तै महिलाहरूको गर्भावस्था तथा महिनावारी हुने समयमा र बच्चा जन्मेको १ वर्षभित्रमा रेडियोग्राफी गराउँदा होसियारी अपनाउनुपर्छ । सकेसम्म अत्यावश्यक नभईगर्न मिल्दैन । तर हामीकहाँ यसका विषयमा चेतनाको अभाव छ । हातखुट्टामा चोटपटक लाग्यो भने एक्स-रे गर्नुपर्छ भन्ने चेतना सामान्यतया हामी सबैमा छ ।
तर एउटा जनचेतना के छैन भने खुट्टाकै कुरा गर्दा पनि कुन रोगमा डाक्टरले के शँका गर्नुभएको छ त्यो अनुसारले गर्ने तरीका फरक पर्छ । जसलाई मेडिकल भाषामा भ्यु भनिन्छ । आफ्नै तरिकाले एक्स-रे गर्यौँ भने चाहिएको रोग नदेखि सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा चाहिएको ठाउँमा मात्रै रेडियोग्राफी गराउनुपर्छ ।
नेपालमा रेडियोग्राफीको अवस्था कस्तो छ ?
पछिल्लो समय नेपालमा रेडिएसनको बारेमा अलिकति बुझेको सहरिया वर्ग छ । जसमा रेडिएसन भनेको नराम्रो चिज हो यसले स्वास्थ्यमा असर गर्छ यो गर्नु नै हुँदैन भन्ने सोच छ भने अर्को वर्ग जसले रेडिएसनबारे सुनेकै छैन, उनीहरूले जति पटक पनि एक्स-रे अर्थात् रेडियोग्राफी गराउँछन् ।
धेरै पटक गर्दा यसमा प्रयोग हुने रेडिएसनले असर पनि गर्छ भन्ने कुराको उनीहरूलाई मतलब छैन । कतिपय बिरामी त हात खुट्टामा चोट लाग्यो भने चिकित्सकसँग सल्लाह नलिई एक्स-रे गर्दिनु भनेर हामीकहाँ आउँछन् ।
अहिले नेपालमै रेडिग्राफी पढाइ हुन थालेको छ, रेडियोग्राफर नेपालमै उत्पादन हुन थालेका छन् । दक्ष प्राविधिकबाट रेडियाग्राफी धेरै अस्पतालहरुमा नविनतम मेसिनहरूको प्रयोगबाट हुन थालेको छ त्यसैले राम्रो अस्पतालहरुमा रेडियोग्राफी गर्दा डराइहाल्नुपर्ने अवस्था छैन । तर चिकित्सकको सल्लाहबिना रेडियोग्राफी गराउनु हुँदैन भन्ने कुरामा सचेत हुनु जरुरी छ ।
अन्त्यमा,रेडियोग्राफरका नाताले यसबारे सचेतना फैलाउन सरकार र सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?
आज विश्व रेडियाग्राफी दिवसमा विभिन्न चेतनामूलक कार्यक्रमहरूमार्फत यसबारे सचेतना फैलाउने, विज्ञहरूसँग अन्तर्क्रिया गर्ने, लगायत कामहरूमा सरकारको पनि भूमिका रहन्छ तर सरकारले चासो दिएको पाइएन ।
त्यसैले सरकारले पनि यसबारेमा साँचो दिनुपर्छ भने बिरामीहरुले पनि कुनै चिकित्सकको सिफारिसबिना रेडिएसनको प्रयोग गरेर गरिने कुनै पनि जाँचहरू सीटीस्क्यान र एक्स–रे गर्नुहुँदैन । यसमा प्रयोग हुने रेडिएसनले झन् नकारात्मक असर गर्न सक्छ ।
यदि चिकित्सकले उचित सिफारिस गर्नुभएको छ भने नेपालमा अहिले विज्ञ जनशक्ति र विशेष मेसिनहरू उपलब्ध छन् । नडराई निर्धक्कसँग आवश्यक जाँचहरू गर्न मिल्छ ।