आर्थिक

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

By खबरहब

October 09, 2024

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध हुने जनाएको छ । अघिल्लो वर्ष दशैँको बेला पिक आवरमा ८०० मेगावाट हाराहारीको विद्युत खपत भएको थियो ।

असोज दोस्रो साता परेको अविरल वर्षाका कारण झण्डै ११ सय मेगावाट विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको अवस्था भए पनि नेपाल विद्युत प्राधिकरणले दशैँका बेला विद्युत प्रवाह नियमित गराउन गृहकार्य थालेको हो ।

विद्युत आपूर्ति र वितरणमा आउनसक्ने समस्यालाई दृष्टिगत गरी प्राधिकरणले आकस्मिक सेवाका कर्मचारी र नो लाइटका कर्मचारीलाई चौबिसै घण्टा खटाइने जनाएको छ ।

दशैँका बेला उद्योगधन्दा र कलकारखाना बन्द हुने गर्छन् । लोड खपत गर्ने उद्योग/व्यवसाय नै बन्द हुँदा बिजुलीको माग त्यति बढ्न सक्दैन । उद्योग र कलकारखानाले खपत गर्ने बिजुली दशैँका बेला बचत हुने गरेको छ । बिजुली उत्पादनको तुलनामा माग घट्दा चाडपर्वका बेला लोड व्यवस्थापनमा खासै समस्या नहुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार चाडपर्वका बेला अन्य उपभोग्य वस्तुको माग बढेजसरी विद्युतको माग बढ्दैन । दशैँका बेला विद्युतको माग पनि निकै कम हुने गरेको उनले बताए ।

बिजुलीको मागको तुलनामा आपूर्ति बढी हुने भएकाले पनि विद्युत वितरण व्यवस्थापन गर्न सहज भएको घोषले खबरहबलाई जानकारी दिए । गार्हस्थ वर्गका ग्राहकहरूले मात्र बिजुली खपत गर्ने हुँदा त्यति समस्या नहुने उनको भनाइ छ ।

गार्हस्थ वा घरेलु ग्राहकले पनि बिहान र बेलुका मात्र बिजुली खपत गर्ने गर्छन् । दिउँसोको समयको बिजुली घरेलु ग्राहकमा पनि कम खपत हुने गर्छ । दशैँका बेला घरेलु ग्राहकवर्गले पिक आवरमा साढे ८०० मेगावाट हाराहारीमा बिजुली खपत गर्ने अनुमान रहेको घोष बताउँछन् ।

‘दशैँका बेला घरेलु ग्राहकले विद्युत उपयोग पिक आवरमा साढे ८०० मेगावाट हाराहारीमै मात्र खपत गर्ने देखिएको छ,’ उनले भने, ‘उद्योग/व्यवसाय बन्द हुने हुँदा लोड व्यवस्थापनमा त्यति समस्या हुँदैन ।’

११०० मेगावाट बिजुली प्रणाली बाहिर

दशैँ सुरु नहुँदै देशभर आएको वर्षाका कारण जलविद्युत आयोजनामा बाढी र पहिरोले ठूलो क्षति पुर्‍यायो ।

जसका कारण करिब ११०० मेगावाटका आयोजनाहरूबाट बिजुली उत्पादन बन्द छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी, २२ मेगावाटको हेवाखोलालगायतका दर्जनभन्दा बढी जलविद्युत आयोजना बाढी र पहिरोका कारण क्षतिग्रस्त छन् ।

बन्द जलविद्युत आयोजनाको मर्मत र सम्भार गरी पुनः विद्युत उत्पादनका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ । बाढीपहिरोका कारण अवरुद्ध केही जलविद्युत आयोजनाहरू मर्मतसम्भार गरी पुनः थाल्न पहल भइरहेको प्राधिकरणले जानकारी दिएको हो ।

बिजुलीको खपत हजार मेगावाट घट्ने

अरू बेलाको तुलनामा दशैँका बेला विद्युत खपत कम हुने गरेको छ । दशैँ सुरु भएसँगै उद्योगधन्दा बन्द हुँदा एक हजार मेगावाट बिजुलीको खपत नै घट्ने गरेको प्राधिकरणले जनाएको छ ।

बिहान र साँझको समयमा आम उपभोक्ताले खाना पकाउने, मेसिन चलाउने, बत्ती बाल्ने, पानी तताउनेलगायतका कारणले बिजुलीको खपत बढ्ने गर्छ ।

उद्योगधन्दा बन्द हुने र घरेलु ग्राहकले पनि दिउँसोको समयमा बिजुली खपत नगर्ने कारणले दशैँका बेला हजार मेगावाट बिजुली बचत हुने गर्छ । अर्थात, अन्य समयको तुलनामा दशैँका बेला हजार मेगावाट हाराहारी बिजुली खपत घट्ने गरेको हो ।

जुनसुकै बेला ‘नो लाइट’ को सेवा

विद्युत महसुल तिर्नका लागि राजश्वका काउन्टरहरू दशैँका बेला बन्द हुने गर्छन् । तर, आकस्मिक सेवामा खटिने कर्मचारीहरू तथा नियमित मर्मत/सम्भारमा खटिने कर्मचारीहरू तथा सम्पूर्ण वितरण केन्द्रका ‘नो लाइट’ हरू खुला रहने प्राधिकरणले जानकारी दिएको छ ।

दशैँका बेला कुनै कारणले बिजुली जाँदा या कतै वितरण प्रणालीमा समस्या आउनेबित्तिकै आकस्मिक सेवाका कर्मचारीहरू परिचालन गरेर पुनः विद्युत सुचारु गर्ने गरी व्यवस्थ मिलाइएको प्राधिकरणले जनाएको छ ।

ग्राहक वर्गले विद्युत आपूर्ति व्यवस्थापनमा कुनै समस्या आयो भने नजिकको वितरण केन्द्र वा ‘नो लाइट’ मा फोन गरेर गुनासो गर्न सक्नेछन् । ‘नो लाइट’ मा सम्पर्क गरेपछि प्राधिकरणले खटाएका कर्मचारीले अवरुद्ध भएको विद्युत पुनः सुचारु गर्नेछन् ।