ब्रेकिङ स्टोरी

एकवर्षमा १६ लाख नेपाली विदेशिए, धेरैको गन्तव्य यूएई, १७ सय बढी रुस पुगे (सूचीसहित)

By खबरहब

January 09, 2024

काठमाडौँ– अध्यागमन विभागले विगत एक वर्षमा विभिन्न सिलसिलामा १६ लाख भन्दा बढी नेपाली विदेशिएको जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म  १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएको उल्लेख छ ।

जसमध्ये सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन् ।

यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।

विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन् ।

विभागको तथ्याङ्कअनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट जानेहरूको मात्र हो ।

अहिले विशेष गरेर रुस–युक्रेन युद्धका कारण ती देशहरू बढी जोखिमयुक्त गन्तव्य मानिएको छ । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा भर्ना भएका १० नेपाली मारिएका छन् भने युक्रेनले ४ नेपालीलाई बन्धक बनाएको छ ।