समाचार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

January 09, 2024

महोत्तरी– महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र  भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् ।

उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ ।गए राति  जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए ।

बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई  नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।