भोजपुर– धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्र रसाइलीले बताए ।
पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उनले बताए । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उनको भनाइ छ ।
आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी बनाउने उनले बताए । उनले स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको बताए ।
विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उनको भनाइ छ । उनले कतिपय खण्डमा मेहनत अनुसारको आम्दानी लिन समस्या हुने गरेको बताए ।
व्यवसाय सञ्चालनमा कच्चा पदार्थ र बजारको समस्या रहेको उनको भनाइ छ । रसाइलीले सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको बताए ।
उत्पादन गरेको खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उनले बुझाइ छ । उनले यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
दिनानुदिन कालिगड पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए ।
भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उनको भनाइ छ । पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयको भनाइ छ ।