राजनीति

वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

By खबरहब

January 09, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला । श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला,’ प्रधानमन्त्रीले भने ।

उनले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिए ।