समाचार

बाँकेमा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ 

By खबरहब

January 09, 2024

बाँके– नेपालगञ्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरिएको छ । 

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको तत्त्वावधान र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नं. ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो । 

कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ । 

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यू.भि.फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ । 

झन्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपालगंज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरूमा नेपालगंज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका  थिए ।