समाचार

औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजतपत्र प्रदान

By खबरहब

February 09, 2024

बागमती– गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरेको छ ।

कार्यालयका अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई गत साउनदेखि पुस महिनासम्ममा सो इजाजतपत्र प्रदान गरेको हो । 

पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले  छ महिनाका अवधिमा ३४  व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार पाँच सय १६  व्यवसायीको नापतौल यन्त्रको जाँच तथा नापतौलमा अनियमितता एवं ठगी गर्ने सात सय ८६ व्यवसायीलाई कारबाहीसमेत गरेको छ ।  

कार्यालय प्रमुख मनिषकुमार दासले  सो अवधिमा एक सय ५५  पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, चार सय ८६ वटा  पम्पको ‘नोजल ’जाँच तथा ६६  वेव्रिजको जाँच गरिएको बताइएको छ ।

साथै सो अवधिमा दुई सय ८८  ट्यांकरको हेटौँडामा   जाँच समेत गरिएको थियो । त्यस्तै सो अवधिमा  कार्यालयका कर्मचारीहरूबाट  विभिन्न बजारक्षेत्रको १० स्थानमा  डोर सञ्चालन, एकल अनुगमन २० पटक तथा नौपटक संयुक्त अनुगमन समेत भएको थियो ।  सो कार्यबाट रु ७३ लाख सात हजार आठ सय ५९ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी  सञ्जीव ठाकुरले जानकारी दिए।