काठमाडौं- वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परेका चन्द्र गुरुङ रिहा भएका छन् । यसअघि प्रहरीले उनलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।
तर, आफू वास्तविक पीडक नभएको उनको भनाइ छ । गुरुङ राजधानीको न्यूरोडमा ‘कम्फर्ट जोन’ नामक पहिरन कम्पनीका सञ्चालक समेत हुन् ।
जुम्लाका कृष्णबहादुर बूढाले पीडितहरुलाई वैदेशिक रोजगारका लागि सर्बिया पुर्याइदिने भनी विश्वासमा लिएका थिए । बूढाले पीडितहरुलाई पैसा पठाइदिन भन्दै चन्द्र गुरुङको बैंक खाता दिएका थिए ।
सोही खातामा पीडितहरुले पैसा हालेको र प्रहरीले अनुसन्धान गर्दै जाँदा बैंक खाताका आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी भएको विषयमा आफू अनभिज्ञ रहेको गुरुङले जानकारी दिए । बूढा र आफ्ना मामा भारतमा सँगै रहेको र मामाको आग्रहमा आफूले बैंकिङ कारोबार गरेको गुरुङको भनाइ छ ।