देश/प्रदेश

सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल हो : नेता लेखक

By खबरहब

February 09, 2024

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् ।

महेन्द्रनगरमा आज महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको बताएका छन् ।

“दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ” उनले भने, “ भारतले पनि सुक्खा बन्दरगाहसित जोड्ने काम गर्नेछ ।”

उनले महाकाली नदीमा चार ‘लेन’को पक्की पुल बनिसकेको बताउँदै महाकाली ‘करिडोर’को काम पनि प्रारम्भ भएको जानकारी दिए ।

“यो पटक कञ्चनपुर र डडेल्धुरा करिडोरबाट जोडिएर हामीले परशुराम धामको दर्शन गरिसकेका छौं ।” नेता लेखकले भने“ अर्को पटक यही करिडोरबाट बैतडी र त्यसपछि दार्चुला पुग्ने गरी ट्रयाक खुलाउने काम हुन्छ ।” उनले चीन र भारतसित नाका जोड्न सके तीन देशबीचको व्यापार बढ्ने विश्वास व्यक्त गरे ।

“ठूलो अर्थतन्त्र भएको मुलुक भारतमा सम्भावना बोकेका प्रान्तहरुबाट हामी सबै भन्दा नजिक छौं ।” उनले भने, “ चीनको पनि कैलाश मानसरोवर धार्मिकस्थल नजिक भएकाले हामीले दुवैतिर नाका खोल्नुपर्छ ।”