अन्तर्राष्ट्रिय

चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई चीनमा निलम्बित मृत्युदण्डको सजाय

By खबरहब

February 09, 2024

काठमाडौं- चीनमा चिनियाँ मूलका अस्ट्रेलियन लेखकलाई निलम्बित मृत्युदण्डको सजाय दिइएको छ । जासुसी गरेको आरोपमा चीनको एउटा अदालतले अस्ट्रेलियन लेखक डा. याङ हेङजुनलाई निलम्बित मृत्युदण्डको सजाय दिएको हो ।

जासुसीको आरोपमा पक्राउ परेको पाँच वर्षपछि उनलाई उक्त सजाय सुनाइएको न्यूयोर्क टाइम्सले जनाएको छ । अस्ट्रेलियन अधिकारीका अनुसार यो सजाय दुई वर्षपछि आजीवन कारावासमा परिणत हुन सक्छ ।

अस्ट्रेलियाले चीनमा आफ्ना नागरिकलाई निलम्बित मृत्युदण्ड दिइएको घटनाबाट स्तब्ध भएको प्रतिक्रिया दिएको छ । याङको सजायलाई लिएर विदेशमन्त्री पेनी वोंगले अस्ट्रेलियाका लागि चिनियाँ राजदूतलाई स्पष्टीकरणका लागि बोलाएकी छिन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बेइजिङको ऐतिहासिक भ्रमण गरेको तीन महिनापछि डा. याङलाई निलम्बित मृत्युदण्ड सुनाइएको हो ।