क्रिकेट

त्रिकोणात्मक टि-२० सिरिज : नेपाल हङकङ भ्रमणमा, पहिलो खेल आइतबार

By खबरहब

March 09, 2024

काठमाडौँ – त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्नेछ।

यो सिरिज आइतबारदेखि बुधबार (मार्च १० देखि १३ तारिख) सम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्।

नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज खेल्न लागेको हो।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा भइसकेको छ। नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

क्यानले यो सिरिजमा दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिएको छ। नेपालले सिरिजअघि हङकङसँग शनिबार एउटा टी-२० फ्रेन्डसिप म्याच खेल्नेछ।