समाचार

सहयात्री दलसँग छलफल गरेर विश्वासको मत लिने निर्णय गर्छु : प्रचण्ड 

By खबरहब

March 09, 2024

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिका बारेमा संसदीय दललाई जानकारी गराएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको   दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।  

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए  ।

त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी दिए ।