राजनीति

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

By खबरहब

April 09, 2024

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा आजको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनका लागि पटक पटक आवाज उठाउँदै आए पनि सरकारले इन्कार गरेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने रणनीति बनाउने तयारी गरेको छ ।

यसअघिको प्रतिनिधिसभा बैठकमा कांग्रेसले आजको संसद बैठक अघि समिति गठन नगरे संसद चल्न नदिने चेतावनी दिइसकेको छ । संसद बैठकलाई बिना अवरोध सञ्चालन गर्ने विषयमा हिजो सभामुखले बोलाएको कांग्रेस, एमाले, माओवादी र रास्वपाका शीर्ष नेता सहभागी बैठकमा सत्तापक्ष र विपक्ष आआफ्नै अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको थियो ।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा यथावत छ भने सत्तापक्ष समितिको आवश्यकता नभएको बताउँदै आएको छ ।

सत्ता पक्ष र विपक्षीबीच कुरा नमिल्दा आजको संसद बैठकमा कांग्रेसले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने चासोको विषय बनेको छ ।