समाचार

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

By खबरहब

April 09, 2024

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसय बढी लाभान्वित भएका छन् ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाक, कान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग परीक्षण तथा आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै विपन्न वर्गका सदस्यले स्वास्थ्य परीक्षण गराएका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

आगामी दिनमा पनि गाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिने प्रतिबद्धता अध्यक्ष रोकाले व्यक्त गरे ।

जटिल रोग लागेका बिरामीलाई आगामी वैशाख १० गते काठमाडौंस्थित मेडिकल कलेजमा निःशुल्क उपचार गरिने कलेजका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले जानकारी दिए ।