समाचार

दाङको तुलसीपुर सडक मानवमुक्त क्षेत्र

By खबरहब

April 09, 2024

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले  यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ ।

अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।

मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ ।

‘आश्रममा ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ’, उनले भने, ‘सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६०  जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।’ पुनर्मिलनपछि स्वास्थ्यका बारेमा ‘फलोअप’ पनि हुने गरेको उनले जानकारी दिए ।

अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताए । वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् ।