विचार

जब भात दु:ख, अचार सुख बन्छ

By संकेत कोइराला

April 09, 2024

समुद्र किनारमा एउटा बच्चा खेलिरहेको थियो। अचानक हल्का छाल आयो र उसको चप्पल बगाएर लग्यो। यो घटनापछि दुःखी हुँदै बच्चाले बालुवामा औंलाले लेख्यो-‘समुद्र चोर हो।’ त्यहीँ नजिकै एउटा मछुवारा माछा मार्दै थियो। मनग्गे माछा जम्मा गरेपछि प्रफुल्ल भएर उसले लेख्यो-‘समुद्र पालनहार हो।’ त्यही समुद्रको एक किनारमा युवाको एउटा समूह पौडीमा रमाइरहेको थियो।

अनायास एउटा युवालाई छालले आफ्नो कब्जामा लियो। बाँकी साथी वियोगमा कोकोहोलो गर्दै रुन, कराउन थाले। एउटा साथीले विरक्तिएर लेख्यो- ‘समुद्र हत्यारा हो।’ समुद्रको अर्को किनारमा एउटा वृद्ध टहलिरहेको थियो। उसको आँखा एउटा चम्किलो वस्तुमा पर्यो। हातमा लिएर हेर्दा त्यो हीरा रहेछ। हत्त न पत्त हीरा गोजीमा राखेर पुलकीत हुँदै वृद्धले लेख्यो- ‘समुद्र दानवीर हो।’अचानक समुद्रमा ठूलो आँधी आयो। यी सबै मानिसले लेखेको भावना क्षणभरमै नामेट भयो।

मान्छेको जीवनमा आँधीजस्तै प्रलय आएपछि विगतका स्मरण बालुवाका अक्षर भएर जान्छन्। मिल-विछोड, घात-प्रतिघात, सम्मान, तिरस्कार, हारजीत, धनी-गरिब, उचनीचका सम्पूर्ण अध्याय समाप्त भएर जान्छ। जीवन र जगतलाई हेर्ने दृष्टिकोण आफ्नै स्वादमा भर पर्छ। भीरमा ज्यान माया मारेर भीरमौरीको मह काढ्ने मानिस भाँडाभरि मह देखेपछि मह काढ्दाको जोखिम बिर्सन्छ।

मान्छेको जीवनमा आँधीजस्तै प्रलय आएपछि विगतका स्मरण बालुवाका अक्षर भएर जान्छन्। मिल-विछोड, घात-प्रतिघात, सम्मान, तिरस्कार, हारजीत, धनी-गरिब, उचनीचका सम्पूर्ण अध्याय समाप्त भएर जान्छ।

प्रश्रव वेदनाले आधा मृत्यु र आधा जीवन बाँचेकी महिला आफूले जन्माएको बालकको रुवाइसँगै मुर्छाबाट ब्यूँझिएर स्तनपानको मेलोमा लाग्छिन्। त्यसैले त सुख अचार हो भने दुख भात हो। थोरै अचारसँग धेरै भात खाएजस्तै थोरै सपनाले धेरै आस जन्माउँछ। सरकार या संस्थाप्रतिको दृष्टिकोण पनि त्यही नै हो। आज भएन भोलि होला। आफ्नो पालामा भएन, छोराको पालोमा होला। त्यो पनि भएन नातिले त पक्कै सुदिन देख्न पाउला। यदि यसो नभएको भए दसैंमा टीका लगाउँदा बीससय आयुको कामना पक्कै गरिदैनथ्यो होला।

स्वर्ग जाने इच्छामा थुप्रै देवस्थलमा घण्ट बजाइन्छ। निराहार व्रत बसिन्छ। भाकल गर्ने प्रशस्त हुन्छन्। तर स्वर्ग जाने अवसर आयो भने कोही तयार हुँदैनन्। कसैलाई मानो रोपेर मुरी फलाउने हुटहुटी हुन्छ। कोही सन्तानको जोडी बाँध्ने बाध्यता देखाउँछन्। जोडी बाँधिएकाबाट नातिनातिनाको मुख हेर्ने भोक जाग्छ। यतिले मात्र पुग्दैन, सन्तानको भविष्यका लागि एउटा छानो हालिदिने धेरै नेपाली अभिभावकले आफ्नो कर्तव्य ठान्छन्।

अझ देखासिकीको रोग महारोग बनेर उपस्थित छ। छिमेकीको छोरो युरोप, अमेरिका भास्सिएपछि आफ्ना सन्तान त्यता नपठाए घरमै जात्रा हुन्छ। आफ्नै साथीसंगी ठूलो कट्टु लगाएर समुद्रीतटमा घुमेको फोटो देखेपछि मनको अन्तरकुन्तरमा रहेको रहर जागृत भएर नआउने पनि होइन।

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ। हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं। त्यसैको असन्तुष्टि अहिले यत्रतत्र, सर्वत्र पोखिएको हो।

समय बद्लिएपछि मान्यता स्वतः बद्लिन्छ। हामीले शिक्षक फेर्न जान्यौं, कोर्स फेर्न जानेनौं। त्यसैको असन्तुष्टि अहिले यत्रतत्र, सर्वत्र पोखिएको हो। पोहोर हिउँदमा मौरीले फूलको रस नै बटुलेको थियो। झिंगा फोहोरमै घुमेको हो। गाईको पेटमा घाँस नै आहारा परेको थियो। काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन। बाघले आहारामा मृग छोडेको छैन। विरालाको अर्जुनदृष्टिमा मुसा नै परिरहेको छ। जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्प छोडेको छैन।

झरी असार साउनमै बर्सिने हो। ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो। यी सबै देख्दादेख्दै हामी भन्छौं- समय बद्लियो। अहँ, बदलिएको समय हैन, हामी हो। समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो। विश्वका सात अर्ब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो। मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौं- मैले संसार फन्को लगाएको छु।

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन। सन्तानलाई डाक्टर, इन्जिनियर र पाइलट बनाउनमा सोख राख्यौं। एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस- म आफ्नो बाउ जस्तो बन्छु। समस्या यहीँ छ। यही बाटो हिँड्दा हिँड्दैको पठ्ठो भोलि हजुरबा बन्छ। अर्थात् बाटोले बुढ्याउँछ। पोहोरको वसन्तमा फुलेको फूल मुर्झाएको कथा बन्दैन। पोहोर सुस्वास्थ्यको कामना गरेको ज्यान कुपोषणले दैवको प्यारो बनेको हुन्छ। तर त्यसको लेखा छैन।

समय बित्नका लागि मात्र बित्दैन। यो नयाँ कामको लागि उत्तोलक पनि हो। नागरिकता विना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ। कागजी पढाई विना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन्। माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त फि तिरेको प्रमाण मात्र हो। बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ। बाहिरी आँखाले रंग खुट्याउँछ। भित्री आँखाले गुण दोष।

जीवनको स्वाद प्रकृतिसँग छ। बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ। आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ। घडीको सूईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ।

जीवनको स्वाद प्रकृतिसँग छ। बाँच्नुको सार्थकता जीवनको स्वादमा आधारित छ। आज यान्त्रिकताको बढ्दो नियन्त्रीकरणभित्र मान्छे घडीको दास हुँदै गइरहेछ। घडीको सूईसँगै घुम्नुपर्ने आजको मान्छे क्रमशः मान्छेबाट रोबटमा अवतरण भइरहेछ। भावना, कल्पना र संवेदनहीन अवस्थामा बाँचेको मान्छेलाई के भन्ने ? मन विनाको मान्छे र रोबटबिच कति फरक होला ? सायदै यही अवस्थाबाट दिक्क भएर जर्ज ह्यारिसनहरु शान्ति खोज्दै गंगाको किनारमा गेरु वस्त्रधारी भएर निस्किएका होलान्। म्याडोनाहरु संस्कृत भाषाको सम्मोहनमा लहस्सिएका होलान्। आखिर मान्छेको अर्को नाम भनेकै प्रयोग हो। अझ त्यो भन्दा पर गएर भन्ने हो भने मान्छे गुण र दोषको सम्मिश्रण हो।

संसार आपैंmमा सुन्दर छैन, तर त्यसलाई हेर्ने आँखा सुन्दर हुनुपर्छ। खानामा हैन, जीब्रोमा स्वाद हुनुपर्छ। आनन्द दृश्यले हैन, मनले ग्रहण गर्नुपर्छ। सृष्टिको नियम उहिले जे थियो, अहिले पनि त्यही छ। चराहरु उडिरहेकै छन्। बादलहरु विभिन्न आकृतिमा विभाजित भइरहेका छन्। आँखाको सिमानाभन्दा विशाल मैदान छन्। त्यही नजिक उठेका हिमाल छन्।

अझ पहाडलाई पनि उछिनेर उठेका स्निग्ध ध्यानमग्न ऋषि महर्षि बसे झैं हिमालय छन्। रात खुम्चिदै उज्यालो टेक्न पुग्छ। प्रत्येक दिन बिहान, दिउँसो, साँझका नाममा बालक, युवा र वृद्धको नियति झैं खुम्चिन र फक्रिन पुग्छ। दिउँसोको स्निग्ध आकास होस् या रातमा आफ्नो वरिपरि तारा जडेर चन्द्रमाको दुधिलो उज्यालोमा आफूलाई आकर्षक बनाउने आकास होस, ती सबै शोभायमान छन्।

सृष्टिको रहस्य र सम्पूर्ण सौन्दर्य चारैतिर समेटेर मानिसलाई कति तरंग र भावनाका आफूहरु बर्साइरहेका छन्। जति हेर्यो, उति हेरिरहूँ लाग्ने भावुकताको मातले छोएर संवेदनाको तरलतासम्म पुग्ने यस्ता क्षणहरु, सौन्दर्यकृत प्रकृतिका उपहार त्यसैत्यसै नष्ट भइरहेका छन्। ऋतु ऋतुमा हुने परिवर्तन र त्यस परिवर्तनबाट मानिसभित्र छाउने ऊर्जा प्रकृतिको अजस्र धारा हो, धारा। शिशिरको पतझड, वसन्तको पालुवा, वर्षादको झम्झम् र शरद्को स्निग्धता कुनै संगीतको कुनै सुरभन्दा कम छैन्। प्रकृतिका यी रस पिउनेको जीवनमा सधैं नवीन अनुभूतिको आलोक खुलिरहन्छ।

आशावादीका लागि संसार सुन्दर छ। उसको आँखा शिल्पी बनेर उघ्रिन्छ। महात्मा बनेर चिम्लिन्छ। यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ। प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन्।

आशावादीका लागि संसार सुन्दर छ। उसको आँखा शिल्पी बनेर उघ्रिन्छ। महात्मा बनेर चिम्लिन्छ। यो धरा सधैं नूतन, सनातन, अजर र अमर छ। प्रकृतिको यही इन्द्रेणीमा साहित्य, संगीत र कलाका मुनाहरु पलाइरहन्छन्। यही इन्द्रेणी हो कविता निरन्तर सिर्जना भइरहेछ। यही इन्द्रेणी हो संगीत निरन्तर बजिरहेछ। यो कल्पनाको इन्द्रेणी, यो भावनाको इन्द्रेणी र संवेदनाको इन्द्रेणी जुन सधैं सुन्दर र रहस्यमयी छ। यो अनन्त इन्द्रेणी रहेसम्म कविता लेखिइरहन्छ, संगीत बजिरहन्छ र सम्पूर्ण कला रचना भइरहन्छन्।

कविताको आनन्द लिन पनि आफूसँग केही कविता हुनैपर्छ। संगीतको धून सुन्न आफूभित्र तरंग हुनैपर्छ। सात समुद्र पारीबाट आएका पर्यटकले सौन्दर्यले अभिभूत भई पाटनको कृष्ण मन्दिरमा आँखा टाँस्छन् र सम्झनाका लागि पचासौं तस्बिर उतार्छन् तर त्यही मन्दिरको पेटीमा बसेका हामी चाहिँ त्यो मन्दिरमा सौन्दर्य देख्दैनौं। सौन्दर्य पिउन आफूभित्र सौन्दर्य हुनुपर्छ। अब आफ्नै परिवेशमा फुल्ने गुराँसको सौन्दर्य आफूमा आत्मसात् गर्ने संवेदना हराउँदै बाँचेको छ।

हामीलाई राजनीतिमा बाँडिदै फुर्सद छैन। हामीलाई साम्प्रदायिकतामा विभाजित हुँदै फुर्सद छैन्। हामीलाई आफ्नै स्वार्थ, महत्वाकांक्षा र भौतिक लिप्सामै निरन्तर टाँसिदैमा फुर्सद छैन्। हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ। भोक लाग्दैन, भोजनमा स्वाद छैन। तिर्खा लाग्दैन, पानीमा धीत छैन। निद्रामा निद छैन, कल्पनाहीन, भावनाहीन मान्छे बाँचेको छ।