समाचार

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिँदै

By खबरहब

April 09, 2024

इलाम– आगामी वैशाख १५ गते हुने इलाम– २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ ।

उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने समय तीनदेखि चार बजेसम्मलाई तोकिएको छ ।

कार्यतालिकाअनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको लागि समय तोकिएको छ ।

उपनिर्वाचनका लागि इलाम–२ मा २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बाह्र दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गराएको आयोगले जनाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।