समाचार

गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्छ : शशांक कोइराला

By खबरहब

April 09, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पदबाट राजीनामा दिएर गृहमन्त्रीले छानविनको लागि मार्गप्रसस्त गर्नुपर्ने बताएका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानविनको वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले आरोपित भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताए । त्यस्तै उनले कांग्रेसले गरेको विरोध प्रतिपक्षीमा बस्नुपरेको आक्रोश नभएको जिकिर गरे ।

त्यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखसंगको छलफलमा पनि अवरोध गर्ने चेतावनी कांग्रेसले दिएकाले सूचना टाँस गरेर बैठक रोकिएको बताए । उनले सदनमा अगाडि बढाउन आग्रह गरेपनि कांग्रेसले अस्वीकार गरेको धारणा राखे । गृहमन्त्रीलाई सुन्ने धैर्यता कांग्रेसले राख्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै माओवादी केन्द्रका सांसद राजन दाहालले कांग्रेस जस्तो जिम्मेवार पार्टीले सदनमा अराजनीतिक र गैरजिम्मेवार प्रवृत्ति देखाएको बताए । सहकारी प्रकरणलाई लिएर महिनौँसम्म सदनको काम कारवाही प्रभावित गर्ने काम उचित नभएको उनले बताए । 

कांग्रेसले अवरोध गरेपछि मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको थियो ।