फाइल तस्वीर

स्वास्थ्य

गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

By खबरहब

May 09, 2024

दमौली– तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उक्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै जनतालाई सहज र सरल रूपमा एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यसहित एम्बुलेन्स ल्याउन सहयोग गरेकामा न्यौपानेले भूपू सैनिक प्रति आभार व्यक्त गरे । उनले भने, ‘सेवा निवृत्तपछि भूपू सैनिकहरूले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय छ । आगामी दिनमा समेत सामाजिक सेवामा तल्लीन हुनुहोला ।’

स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख देविन्द्र कार्कीले जानकारी दिए । भूपू सैनिकको समन्वयमा एम्बुलेन्स प्राप्त भएसँगै उक्त वडामा तीन एम्बुलेन्स सञ्चालनमा आएका छन् ।

उनले भने, ‘स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो वडामा तीन वटा एम्बुलेन्स भएका छन् । वडावासीले सहज रूपमा एम्बुलेन्स सेवा पाएका छन् ।’

यसअघि राजापानी कलेस्ती दिगो समाज र स्याकुन्थोक समाजले दुई वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । व्यास –९ ले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको वडाध्यक्ष सुरेश थापाले जानकारी दिए । त्यस्तै ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइएको उनले बताए ।