समाचार

प्रदेशको विकासका लागि सबै दलबीच सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कार्की

By खबरहब

May 09, 2024

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताएका छन् ।

कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताए ।

“नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रष्ट छौँ”, उनले भने।

उनले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।