अन्तर्राष्ट्रिय

शपथ लिनुअघि मोदी पुगे महात्मा गान्धीको समाधिस्थल

By खबरहब

June 09, 2024

काठमाडौं– लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आज बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।

मोदीले गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली दिएका छन् । यसपछि उनले गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरे ।

प्रधानमन्त्री मोदीले आज साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् ।

मोदीलाई गत शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यो उनको तेस्रो कार्यकाल हो । जवाहरलाल नेहरूपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने मोदी दोस्रो नेता हुन् ।

भर्खरै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले ५४३ सदस्यीय लोकसभामा २९२ सिटसहित बहुमत ल्याएको छ । जसमा भाजपाको मात्रै २४० सिट छ ।