समाचार

महानगरविरूद्ध आन्दोलन गर्ने कवाड व्यवसायी संघर्ष समितिको चेतावनी   

By खबरहब

June 09, 2024

काठमाडौं– कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले काठमाडौं महानगरका नगर प्रहरीले जवरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको बताए ।

उनले आफूहरूको समस्याका बारेमा प्रधानमन्त्री लगायत सबै निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको धारणा राखे ।

उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनले बताए ।

उनले महानगरको ज्यादतीविरुद्ध आफूहरू आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जानकारी दिए । कवाड व्यवसायी कृष्ण यादवले काठमाडौं महानगरले श्रमिकहरूको सम्मान नगरेको भन्दै अनावश्यक दुःख दिएको बताए ।