अपराध

थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी, एक जना पक्राउ

By खबरहब

June 09, 2024

काठमाडौं– थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान  कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग मेरो उच्च पदस्थ व्यक्तिहरूसँग नजिकको चिनजान छ, मैले आफै सरकारी वकिल, न्यायाधीश, प्रहरी समेत तल देखि माथिसम्म पैसाले सेटिङ मिलाउँछु भन्दै काठमाडौंको विभिन्न स्थानमा बोलाई नगद २० लाख रुपैयाँ र चेक मार्फत २५ लाख गरी जम्मा ४५ लाख रकम ठगी गरेको आरोपमा सर्लाही घर भई हाल धापाखेल बस्ने  ४५ बर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह पक्राउ परेका छन् ।

सिंहलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।