राजनीति

कारबाहीविरुद्ध मुकुलले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने

By खबरहब

July 09, 2024

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । तर उनले उक्त कारबाहीविरुद्ध पुनरावेदन गर्न पाउने भएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा मंगलबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय लिएको हो ।

यसअघिको बैठकमा अराजनीतिक व्यवहार गरेको कुरा भन्दै ढकाललाई निलम्बन गरिएको अवस्थामा अनुशासन समितिको प्रतिवेदनका आधारमा पदबाट बर्खास्त गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए ।

बैठकमा अनुशासन समितिको प्रतिवेदनबारे विस्तृत छलफल भएको उनले बताए ।

प्रतिवेदनको सिफारिस अनुसार पार्टीको विधान धारा ५६ उपधारा ३ बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको झाले बताए ।

यदि मुकुललाई केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावदेनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको जानकारी झाले दिए ।